ईटहरी/ छैठौं ‘इनास फिल्म अवार्ड’ मा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा चलचित्र ‘प्रसाद’ बाट विपिनले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा स्वस्तिमाले ‘बुलबुल’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । ११ विधामा बाँडिएको ‘इनास अवार्ड’ मा उत्कृष्ट चलचित्रको अवार्ड पनि ‘बुलबुल’ ले नै हात पार्यो ।
उत्कृष्ट निर्देशकको अवार्ड पनि ‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले आफ्नो पोल्टामा पारे । त्यस्तै, ‘गोपी’ बाट निर्देशक दीपेन्द्र लामा र ‘छक्का पञ्जा ३’ बाट निर्देशक दीपाश्री निरौलालाई जुरी अवार्ड प्रदान गरियो । काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको अवार्ड समारोहमा दर्जनौं नेपाली चलचित्रमा कालजयी संगीत भरेका संगीतकार रञ्जित गजमेरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को अध्यक्षमा चुनिएकी कमला दाहालले यो अवार्डलाई आगामी दिनमा अझ परस्कृत र भव्यसँग आयोजना गर्ने बताइन् । यस कलाकार समाजको ७० देशमा शाखा छ । कार्यक्रममा समाजको विभिन्न चार देशका समितिलाई पनि सम्मान गरिएको थियो । अवार्डमा सयौँको संख्यामा एनआरएनहरुको उपस्थिति रहेको थियो । भने, चलचित्रकर्मीहरु उपस्थिति पनि बाक्लो थियो ।
-dthreeonline-