२०७५ धनगढी प्रिमियर लिग धनगढी प्रिमियर लिग को तेस्रो संस्करण हो। यो प्रतियोगिता माघ २८ देखि फागुन ११ सम्म धनगढीमा आयोजना भएको थियो। यो प्रतियोगितामा देश भरिका विभिन्न सहरहरूका प्रतिनिधित्व गर्ने विभिन्न ६ वटा टोलीहरूले सहभागीता रहेको थियो। २०७५ धनगढी प्रिमियर लिग धनगढी क्रिकेट लिगको परिमार्जित नाम धनगढी प्रिमियर लिगको तेस्रो संस्करण हो। दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो।[१] जितसँगै सिवाईसी अत्तरीयाले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको थियो।
विजय डिस्टिलरी उद्योगको रुस्लान क्रिकेटले धनगढी प्रिमियर लिगको मुख्य प्रायोजन गरेको थियोे। विजय डिस्टिलरी र आयोजकका बीच यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाखको कीर्तिमानी सम्झौतामा हस्ताक्षर भएको थियो। १५ दिन सम्म सञ्चालन हुने लिगमा कुल १९ खेलहरू भएका थिए। पहिलो र दोस्रो संस्करणका सबै खेलहरू एसएसपी क्रिकेट मैदानमा भएतापनि, यस तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको खेलहरू भने सबै फाप्ला क्रिकेट मैदानमा भएका थिए। माघ २६ गते शनिबारबाट सुरु हुने भनिएको धनगढी प्रिमियर लिग लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि प्रतियोगितालाई दुई दिन पछाडि सारिएको थियो।
२०७५ धनगढी प्रिमियर लिग | |
---|---|
मिति | माघ २८ – फागुन ११ |
प्रशासक(हरू) | धनगढी क्रिकेट एकेडेमी सुदुरपश्चिमाञ्चल क्रिकेट एकेडेमी |
क्रिकेटको प्रकार | ट्वान्टी२० |
टुर्नामेन्टको प्रकार | राउण्ड रोबिन र प्लेअफ |
आयोजक(हरू) | नेपाल |
विजेता | सिवाइसी अत्तरीया (१अौँ उपाधि) |
सहभागीहरू | ६ |
खेल संख्या | १९ |
पृष्ठभूमि
धनगढी प्रिमियर लिग एक व्यावसायिक क्रिकेट लिग हो जुन नेपालको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजना हुने गर्दछ यो क्रिकेट प्रतियोगिता धनगढी क्रिकेट लिगको परिमार्जित रूप पनि हो। यो विस २०७३ सालमा स्थापना भएको थियो। यसका संस्थापकहरू धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम क्रिकेट एकेडेमी हुन्।